अर्जुनधाराका सबै वडाहरुमा आगामी कार्तिक २३ गतेदेखि निशुल्क खोरेत रोगविरुद्ध खोप अभियान सुरु हुने


२२ कार्तिक २०८२, शुक्रबार १९:५२ मा प्रकाशित

अर्जुनधारा। कोशी प्रदेश कृषि मन्त्रालय तथा अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको संयुक्त आयोजनामा आगामी कार्तिक २३ गतेदेखि निशुल्क खोरेत रोग (Foot and Mouth Disease – FMD) विरुद्धको खोप (भ्याक्सिन) अभियान सुरु हुने भएको छ।

आज आयोजित एक विशेष समारोहका बीच सो अभियानबारे जानकारी दिँदै अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले नगर क्षेत्रभित्रका सबै वडामा यो खोप अभियान घर–घर पुगेर सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार अभियानका लागि ६ जनाको प्राविधिक टोली गठन गरिएको छ, जसले प्रत्येक वडामा पुगेर गाई, भैँसी लगायतका चौपायालाई निशुल्क खोप लगाउनेछ।

राईका अनुसार यस वर्ष नगर क्षेत्रभित्र करिब २० हजार चौपायालाई खोप लगाउने लक्ष्य राखिएको छ। साथै, आगामी वर्षहरूमा निरन्तर अभियान सञ्चालन गरी अर्जुनधारा नगरपालिकालाई खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्ने दीर्घकालीन लक्ष्य राखिएको उहाँले बताउनुभयो। उहाँले किसानहरुले उत्पादन गरेको दुध तथा मासु खोरेत रोगका कारण अन्तराष्ट्रिय स्तर सम्म नपुग्ने र नबिक्ने भएकाले यस्लाई नियन्त्रण गर्न यो अभियान चलाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अभियानको मुख्य उद्देश्य नगरभित्र फैलँदै गएको खोरेत रोगलाई नियन्त्रणमा लिनु, पशुधनलाई रोगमुक्त राख्नु र किसानहरूको आर्थिक क्षति न्यूनीकरण गर्नु हो। साथै, पशुपालक किसानमा पशु स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउने लक्ष्य पनि राखिएको छ।

राईले भन्नुभयो, “खोरेत रोगले हरेक वर्ष किसानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याउँछ। यस खोप अभियानले रोग नियन्त्रणमा मात्र होइन, उत्पादन र आम्दानीमा समेत सुधार ल्याउनेछ।”

सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, किसान समूहका अगुवा तथा पशुपालन व्यवसायीहरूको सहभागिता रहेको थियो । पशुपन्छी तथा मत्स्य विकास शाखाले खोप कार्यक्रमका लागि आवश्यक औषधि, प्राविधिक जनशक्ति र सामग्रीको तयारी पूरा भइसकेको र तोकिएको तालिकाअनुसार सम्पूर्ण वडामा अभियान सञ्चालन गरिने जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here