मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवन निरीक्षणः समयमै काम सम्पन्न नभए जरिबाना तिराउने चेतावनी


९ कार्तिक २०८२, शनिबार १७:४३ मा प्रकाशित

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गर्नुभएको छ । 


शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गर्नुभएको हो । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन निर्देशन दिइएको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताउनु भयो । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताउनु भयो । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिनुभयो ।

दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिनुभयो । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गर्नुभयो ।

आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न निर्देशन दिनुभयो । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिनुभयो । 

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here