काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।
४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो ।
भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उहाँले जानकारी दिनुभयो । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उहाँको भनाई छ ।
हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उहाँले बताउनु भयो । हिमाली क्षेत्रमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उहाँको भनाई छ । उहाँले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिव ५५ प्रतिशत रहेको बताउनु भयो ।
करिव ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमी तथा श्रमिकको उत्पादकत्व न्युन रहेको उहाँको भनाई छ । उहाँका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको छ ।






