मधेस । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराउनुभएको हो । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गर्नुभएको छ । जनमत पार्टीबाट महेश यादव र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
सोनल बुधवार मधेसको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो । शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सोनलले आफू यो पद रमाइलो गर्न नआएको प्रतिक्रिया दिनुभयो । आफू मधेस प्रदेशका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्नका लागि आफ्नो स्तरबाट हुनसक्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोनलले आफू मन्त्री पदमा रहँदा समेत घण्टौ काम गर्ने व्यक्ति रहेकाले अब मुख्यमन्त्रीको रुपमा जिम्मेवारी थप बढेकाले सो जिम्मेवारी वहन गर्ने बताउनु भयो । जेन—जी आन्दोलनबाट युवाहरुले उठाउँदै आएका माग र जनमानसको अपेक्षा पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






