काठमाडौं । नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या न्युन हुन गएको हो । भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्युन हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो ।
उहाँले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो ।






