काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको घुइँचो लागेको छ ।
काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आईतवार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए ।
दशैँ, तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरु फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् ।
यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ । विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेपनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए ।






