काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गर्नुभएको छ ।
शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताउनु भयो । उहाँले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताउनु भयो ।
आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ ? भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनैपनि बेला फरक स्थिति बनिदिने जिकिर गर्नुभयो ।
गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । घाइतेको उपचार जारी छ । ट्रमा सेन्टरमा उपचाररत जेन जी घाइतेमध्ये १ जनामात्रै आइसियुमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताउनु भयो ।






