घरजग्गा कारोबारमा भारी गिरावटः व्यवसायी भन्छन्–‘सरकारकै कारण ठप्प हुँदैछ’


२० भाद्र २०८२, शुक्रबार १४:३७ मा प्रकाशित


काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ शुरु भएयता नै  घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त तथ्यांकअनुसार साउनमा कारोबारमा गिरावट आएको छ । २०८१ साउनमा नेपालभर ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो । गत साउनमा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो । 

गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो । गत असारमा देशभर ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो । गत आवभर नेपाल भर पाँच लाख ९० हजार ५ सय ४३ वटा घरजग्गा कारोबार भएको थियो ।  
समिक्षा महिनामा काठमाडौं उपत्यकामा तीन हजार २० वटा घरजग्गाको कारोबार भएको छ । साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ । यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० वटा घरजग्गा कारोबार भएको देखिन्छ ।  

यस्तै काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चावहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १११ घरजग्गाका कारोबार भएका छन् ।

साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीहरुले बताएका छन्  । लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरेपनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनु भयो । 

उहाँकाअनुसार स्थानीय तहकले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन । त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ । 

अध्यक्ष घिमिरेले घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको बताउनु भयो । सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने उहाँको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here