नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ झापाको सातौं जिल्ला अधिवेशन सम्पन्न


५ भाद्र २०८२, बिहीबार १५:५२ मा प्रकाशित

बिर्तामोड, भदौ ५ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ झापा शाखाको सातौं जिल्ला अधिवेशन बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा झापाका विभिन्न यातायात व्यवसायी संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय अगुवा व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अधिवेशनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजाल प्रमुख आतिथ्य रहनु भएको थियो। कार्यक्रममा महासङ्घका अध्यक्ष हेमराज दाहाल, अन्य केन्द्रीय पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व कार्यसमितिको गतिविधि प्रतिवेदन प्रस्तुत गर्दै विगतमा गरिएको कामको समीक्षा गरिएको थियो। सो क्रममा यातायात व्यवसाय सञ्चालनमा देखिएका समस्या, चुनौती, बढ्दो प्रतिस्पर्धा, कर तथा नीतिगत अव्यवस्था, सवारी जामजस्ता मुद्दाहरू उठान गर्दै समाधानका उपायबारे छलफल गरिएको थियो।

प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजालले नेपालमा यातायात व्यवसाय राष्ट्रको मेरुदण्डकै रूपमा रहेको बताउँदै व्यवसायीहरूको हकहितको रक्षा, यात्रु सेवा सुधार र व्यवसायलाई थप सुरक्षित तथा व्यवस्थित बनाउन महासङ्घ सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी अध्यक्ष हेमराज दाहालले झापाका व्यवसायीहरूको एकता नै महासङ्घको शक्ति भएको उल्लेख गर्दै संगठनलाई अझ सबल बनाउन निरन्तर पहल गर्ने बताउनुभयो।

वक्ताहरूले यातायात व्यवसायलाई दिगो र पारदर्शी बनाउन सरकारले प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनले भावी कार्ययोजना प्रस्तुत गर्दै संगठनको आन्तरिक सुदृढीकरण, यातायात व्यवसायीको हकहितको संरक्षण, सडक सुरक्षाको प्रवर्द्धन तथा यात्रु सेवामा गुणस्तरीय सुधारलाई प्राथमिकताका रूपमा अघि बढाइने निष्कर्ष निकालेको छ।

अधिवेशनमा स्थानीय तहका प्रमुख–प्रतिनिधि, उद्योगी व्यवसायी, यातायात व्यवसायी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here