मेचीनगरको इटाभट्टामा साप्ताहिक हाट बजार शुरु, किसान लाभान्वित


४ भाद्र २०८२, बुधबार १५:३७ मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर— ७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा हाट बजार सञ्चालनमा आएको छ । पहिलो पटक साप्ताहिकरुपमा हाट बजार सञ्चालनमा आएपछि स्थानीय किसान उत्साहित भएका छन् ।

यो हाट बजारबाट उपभोक्ताले अर्गानिक वस्तु उपभोग गर्न पाउने र किसान लाभान्वित हुने विश्वास लिइएको छ । मेचीनगरका किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवद्र्धन गर्दै कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन मेचीनगरमा साप्ताहिक हाट बजार शुरु गरीएको हो ।

मेचीनगर नगरपालिकाको पहल र मेचीनगर नगरपालिका वडा नम्बर— ७ को वडा कार्यालय इटाभट्टाको समन्वयमा बजार व्यवस्थापन समिति इटाभट्टाले हाटबजार सञ्चालनमा ल्याएको हो । हप्तामा एक पटक लाग्ने गरी बुधबारदेखि हाटबजार सञ्चालनमा आएको हो ।

बुधबार मेचीनगरको मुख्यः बजार धुलाबारी तथा सिमापारीको पानीट्याङ्की बजार बन्द रहने भएका कारण पनि साप्ताहिक रुपमा यहाँको हाट बजार बुधबार लाग्ने बताइएको छ । मेचीनगर –७ को वडा कार्यालय परिसरमा रहेका नगरपालिकाले निर्माण गरेका टहरामा स्थानीय व्यपारीले खरीद गरेका र किसानले उत्पादन गरेका तरकारीलगायत अन्य वस्तु बेचबिखनका लागि राखेका थिए ।

उक्त साप्ताहिक हाट बजारको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरुपमा रिवन काटेर समुद्घाटन गरेका थिए । नगरप्रमुख बुढाथोकीले प्रत्येक हप्ताको बुधबार हाटबजार लाग्ने व्यवस्था मिलाइएको बताए ।

हाटबजार नहुँदा किसानले उत्पादन गरेको तरकारी टोकरीमा राखेर घरघरमा बेच्दै हिँड्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै नगर प्रमुख बुढाथोकीले हाटबजारले किसानलाई उत्पादन बेचबिखनमा सहज हुने विश्वास व्यक्त गरे ।

मेचीनगर नगरपालिकाका विभिन्न वडामा किसानलाई व्यवसायी तरकारी उत्पादनमा जोड दिँदै नगरपालिकाले कृषि सामग्री अनुदानलगायत बीउबिजनमा अनुदान दिँदै आए पनि उत्पादित वस्तु घरघरमा डुलाएर बेच्नुपर्ने बाध्यता रहेको नगप्रमुख बुढाथोकीको भनाई थियो ।

स्थानीय सरकारले किसानलाई उत्पादन गर्न समूह बनाएर विभिन्न सहयोग सामग्री दिएर सहयोग गरे पनि उत्पादन भएका वस्तु कहाँ लगेर बिक्री गर्ने भन्ने किसानलाई समस्या रहेका वखत यो साप्ताहिक हाट बजारले सजिलो हुने नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ ।

बाहिरबाट तरकारी आयात घटाउनका लागि किसानले उत्पादन गरेका तरकारी हाटबजारमा खुद्रा तथा थोकमा बेच्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा बेचेर बचेको किसानको तरकारी स्थानीय व्यापारीले खरिद गर्छन् । हाटबजार सञ्चालनको पहिलो दिन आफ्नो उत्पादन राखेको र राम्रै बिक्री भएको स्थानीय व्यपारी नारायण निरौलाको भनाइ छ । निरौलाले जुत्ता चप्पल र कपडाको पसल राखेका थिए ।

पहिलो दिन व्यपार ठीकै भएको र आगामी दिनमा यस हाट बजारबाट आर्थिक कारोवार राम्रै हुने उनले अपेक्षा गरे । मेचीनगर—७ मदनवस्तीकी फुलमती राजवंशीले आफ्नै वारीमा फलाएको लट्टेको साग, लौका, काक्रा, गोलभेँडा, खुर्सानी बेच्न ल्याएको सुनाईन् । ‘अहिले सम्म तीनसय रुपैयाँको बिक्री भयो’,उनले भनिन् साँझसम्ममा राम्रै हुन्छ होला ।’ स्थानीय छत्रबहादुर विकले आफैले उत्पादन गरेका फलामका सामग्रीले पहिलो दिन बजारमा राम्रै भाउ पाएकोमा खुशी व्यक्त गरे ।

हसियाँ, कोदालो, बञ्जरो, खुर्पा, सेलरोटी पकाउने ताई, रोटी पकाउने तावा कन्तीलगायतका सामग्री उनले हाट बजारमा राखेका थिए । हाट बजार नहुँदा आफुले उत्पादन गरेको यस्ता वस्तु टोकरीमा राखेर गाउँ घरमा डुलाउँदैं घरघरमा बेच्दै हिँड्नुपर्ने बाध्यता रहेको विकको भनाई थियो ।

हाट बजार शुरु भएको पहिलो दिन कष्मेटिक व्यवसायीरजक मियाँ, मेची सुज सेन्टरका सञ्चालक जगत रम्तेलले पनि बजारमा आफ्ना उत्पादन विक्रीका लागि राखेको र विक्री ठीकै भएको बताए । स्थानीयले व्यावसायिक खेती नगरे पनि आफ्नै वारीमा उत्पादन गरेको सागसब्जी, घरमा खाएर बचेको तरकारी हाटबजारमा बेच्न ल्याएको बताए ।

मेचीनगर वडा नम्बर—७ का वडाअध्यक्ष प्रल्हादमणि ओलीको अध्यक्षतामा भएको साप्ताहिक हाट बजारको उद्घाटन सत्रमा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विशेष अतिथि नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे,स्थानीय दिनेश राजवंशीलगायतले बोलेका थिए ।

उनीहरुले यस्ता गाउँ ठाउँमा लाग्ने साप्ताहिक हाट बजारले स्थानीय कृषक तथा व्यापारीहरुलाई बजारसम्म आफना उत्पादन पुर्याउन सहज हुने बताए । छरिएर रहेका साना व्यापारीहरुलाई एकत्रित गरे एउटै स्थानमा व्यवस्थापन गर्न तथा बजार व्यवस्थित पनि हुने र उपभोक्ताहरुलाई पनि सजिलो हुने उनीहरुको भनाई थियो ।

हाट बजार सञ्चालनमा आएसँगै अलपत्र अवस्थामा रहेका संरचनाहरु समेत उपयोगमा आएका छन् । बजार व्यवस्थापन समितिका अध्यक्ष खडानन्द भण्डारीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने वडा नम्बर —७ की वडा सचिव लक्ष्मी राईले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here