काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्नेगरेको बताउनुभएको छ ।
शनिवार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्नेक्रम नरोकिनुमा भारतको हात रहेको आरोप लगाउनु भयो ।
उहाँले नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानूनहरु बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गर्नुभयो ।
महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रुपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाउनु भयो । बाहिरबाट सामान आयात गरेर बढीभन्दा बढी नाफा कमाउनकै लागि दलाल पुँजीवादीहरुले उद्योग खोल्ने बातावरण नबनाइदिएको उहाँको भनाई थियो ।