काठमाडौैं । नेपाल विद्युत प्राधिकरणका निःवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई सरकारले हतोत्साहित र अपमानित गरेको आरोप लगाउनुभएको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले आफूलाई अपमानित गरेर हटाएको आरोप लगाउनुभएको हो । उहाँले नेपालको कानुूनले तोकिए अनुसार राष्ट्रसेवामा खटिएको कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति खनिएको जिकिर गर्नुभयो ।
उहाँले आफूलाई अपमान गर्न सरकारका जिम्मेबार व्यक्तिले सार्वभौम संसदको दुरुपयोग गरेको बताउनु भयो । उहाँले आफूले पदमा बस्दा गरेको कुनैपनि कामबाट पछुतो गर्नुपर्ने स्थान नभएको बताउनु भयो । पदीय दायित्वमा रहँदा अवसर र अधिकारलाई सदुपयोग गर्न आफूले समय खेर नफालेको उहाँको भनाइ छ ।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले निरन्तर घाटामा गएको विद्युत प्राधिकरणलाई आफ्नो नेतृत्वमा अर्बौं नाफामा लैजान सफल भएको दाबी गर्नुभयो । उहाँले प्राधिकरणको सम्पती तीन गुणाले वृद्धि गरी प्राधिकरणलाई आत्मनिर्भर बनाएको बताउनु भयो ।
अधिकांश नागरिको घरघरमा बिजुली सेवा उपलब्ध गराउनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी शहर उज्यालो बनाउने कार्यमा समेत प्राधिकरणले ठूलो लगानी गरेको बताउनु भयो ।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले देशमा लोडसेडिङको अन्त्यदेखि प्राधिकरणलाई नाफामा लैजानेसम्मका कार्य इमान्दारीपूर्वक गरेको बताउनुभयो । जवाफदेखिता तथा नतिजामुखी नेतृत्वका कारण आफूले सफलता प्राप्त गरेको उहाँको भनाइ छ । उहाँले आवश्यक परे राष्ट्रसेवाको जुनसुकै भुमिकामा रहेर पनि आफूले देशका लागि योगदान गर्न सधैँ तयार रहेको बताउनु भयो ।
निःवर्तमान कार्यकारी निर्देशक घिसिङले आफूले प्रभावकारी नेतृत्व, प्रस्ट भिजन र पारदर्शी विधिबाट कार्य गरेकाले सफलता प्राप्त गरेको बताउनु भयो । उहाँले आफूले प्राप्त गरेको सफलताले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भुमिका खेलेकाले राज्यका अन्य क्षेत्रमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो । एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था रहेकाले सबैले खबरदारी गर्नुपर्ने बताउनु भयो ।