काठमाडौं । कानून, न्याय तथा संसदीय मामलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताउनुभएको छ ।
बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरुको विकल्प पार्टीहरु नै भएको बताउनु भयो ।
संविधान सभामार्फत जनताले हटाएको राजतन्त्रले पुनः संविधान उल्ट्याएर तानाशाही लाद्न खोज्ने प्रवृत्ति देखाउनेहरुसँग सरकारले कुनै किसिमको सम्झौता गर्न नहुने बताउनु भयो । उहाँले राजा चाहने दलहरुले दुई तिहाइ जनमत लिएर संविधान परिवर्तन गरी आफूले चाहेको व्यवस्था कायम गर्न चुनौति दिनुभयो ।
उहाँले स्रोतसाधानको कमीका कारण जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्न नसकेको बताउनु भयो । राजनीतिक दल तथा जनप्रतिनिधिहरुमा भएका कमीकमजोरी सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
भूकम्प, बाढी पहिरो, कोभिड जस्ता प्राकृतिक संकटमा सरकारले सीमित स्रोतसाधानका बाबजुत सर्वसाधारको आवास निर्माण तथा क्षतिपूर्तिका राम्रो व्यवस्था गरेको दाबी गर्नुभयो । उहाँले तीनकुने घटनाबारेमा सरकारले निश्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग गर्नुभयो ।
मन्त्री चौरसियाले २०५८ सालको घटनामा राजा वीरेन्द्रको वंश नाश भएपछि तत्कालिन सरकारका नेतृत्वकर्ता तथा दलहरुले ढुङ्गामुडा खाएर ज्ञानेन्द्र शाहलाई राजा बनाएको बताउनु भयो ।