काठमाडौं । वागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरु गरेको छ ।
भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख शुरु गरिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताउनु भयो ।
उहाँले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताउनु भयो । उहाँले २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम शुरु भएको बताउनु भयो ।
कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेखन गरिने बताउनु भयो । विद्युतीय अभिलेखनमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यालय प्रमुख भट्टराईले सचेतनाको कमीले कतिपय सवारी साधन घरघरमा थन्किएर रहेको तथा कतिपयको भौतिक अस्तित्व नै नभएको बताउनु भयो । जबसम्म कर कार्यालयमा गएर लगत कट्टा र खारेज गरिँदैन तबसम्म करको दायित्व सवारी धनिकै हुने भएकाले सरकारी बाँकी सरह असुल गर्न सकिने उहाँको भनाइ छ ।