काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताउनुभएको छ ।
आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गर्नुभयो ।
उहाँले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गर्नुभयो । उहाँले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने बताउनु भयो ।
उहाँले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताउनु भयो ।