काठमाडौं । नेपाली काँग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ ।
काँग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै काँग्रेसले सो सुझाव पेश गरेको हो । बिहीवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरु गर्नुपर्ने माग आम जनता र युवाहरुको रहेको बताउनु भयो ।
उहाँले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरु आक्रोशित भएको र युवाहरुको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिनुभयो । उहाँले आफ्नो दलको सरकार रहेपनि आफूहरुले युवा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वभाविक रहेको पुष्टि हुने उहाँको जिकिर थियो ।
नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरुसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताउनु भयो । कार्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको युवा संकल्प यात्रा मंसिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।