काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनु भयो ।
वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनु भयो । उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।
उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनु भयो ।
मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनु भयो ।
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनु भयो ।