साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा, नेपाली टोलीकी फरवार्ड साम्बाले पहिलो खेल गुमाउने पक्का


२९ आश्विन २०८१, मंगलवार १९:२५ मा प्रकाशित


काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ ।

कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा सहभागी हुन भुटानबाहेक सबै टोली काठमाडौं आइपुगेका छन्। भुटानी टोली भोलि बिहान काठमाडौं आइपुग्नेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितको अनुमानित बजेट ४ करोड रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजन गर्न लागेको हो। यसअघि नेपालले सन् २०२२ र २०१९ मा पनि प्रतियोगिता आयोजना गरेको थियो। दुवै संस्करणमा नेपाल उपविजेतामा सीमित बनेको थियो। प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ। नेपालको पहिलो खेल शुक्रबार भुटानसँग छ। यो खेल नेपाली टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले गुमाउने पक्का भएको छ। साम्बा आगामी आइतबार मात्र काठमाडौं आइपुग्नेछिन्। उनी आएको भोलिपल्ट नेपालले माल्दिभ्ससँग खेल्नेछ। त्यसैले यो खेल पनि उनले खेल्ने नखेल्ने पक्का छैन।

एञ्जिलाको कप्तानीमा नेपाली टोली

साबिकको उपविजेता नेपालले सोमवार महिला साफ च्याम्पिनसिप खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको थियो ।

मुख्य प्रशिक्षक तामाङले एञ्जिला तोम्बाप्पो सुब्बाको कप्तानीमा राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् । फरवार्डमा सावित्रा भण्डारीसहित रेखा पौडेल, अनिता केसी र रश्मिकुमारी घिसिङ छन् । मिडफिल्डमा रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिशा कार्की र विमला चौधरी छन् । डिफेन्समा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् । गोलकिपरमा कप्तान एञ्जिलासँगै अन्जना रानामगर र उषा नाथले स्थान बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here