गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति होइनः गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक गिरी


३० जेष्ठ २०८१, बुधबार १६:३१ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताउनुभएको छ ।

बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताउनुभएको हो ।

उहाँले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु-बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पती राज्यको नभएको बताउनु भयो । उहाँले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गर्नुभयो ।

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उहाँले बताउनु भयो ।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उहाँले बताउनु भयो । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गर्नुभएको छ ।

दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here