गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत, माओवादीकाे चिह्नबाट चुनाव जितेका देवकोटाद्वारा ‘फ्लाेर क्रस’


२८ जेष्ठ २०८१, सोमबार १९:०३ मा प्रकाशित

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) काे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको ‘ह्विप’ विपरीत ‘फ्लोर क्रस’ गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।

यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले पनि मत दिनुभएको थियो । यस्तै नेकपा एमालेका २२ र माओवादीका ६ सहित २८ जना सांसदले पाण्डेको विपक्षमा मत हालेका छन् ।

आफ्नो पार्टीको ‘ह्विप’ नमानेको भन्दै माओवादीले सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here