विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड


२७ जेष्ठ २०८१, आईतवार १७:०९ मा प्रकाशित

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् ।

विद्यार्थीले विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि सडकमा गुडिरहेको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा आईतवार आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाउँदै आन्दोलित विद्यार्थीहरूको समूहले आज बिहान साढे बजेतिर स्कारपियोमा आगजनी गरेका हुन् ।

दमकलको सहयोगले आगो नियन्त्रणमा लिएपनि आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चालक र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी रोकेर विद्यार्थीहरुले आगो लगाएका थिए । नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले गत बिहीवार ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूको रिहाईको माग राख्दै आन्दोलित बनेका उनीहरूले आज एउटा स्कारपियोमा आगजनी गरेका हुन् ।

अरू पाँच वटा गाडीमा क्षति पुगेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो । गाडी आगजनी गर्ने समूहको खोजी भइरहेको उहाँले बताउनु भयो ।

निजी विद्यालयहरूले आफूखुशी कानूनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै विद्यार्थीहरूले जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

मेयर दिलिपकुमार अग्रवाल र उपमेयर भुमा पराजुली नै नगरपालिकाभन्दा बाहिर छन् । कार्यवाहकको जिम्मेवारी पाएका ८ नम्बरका वडाअध्यक्षसँग कुरा नमिलेपछि थप आक्रोशित बनेका उनीहरूले नगर प्रहरीमाथि हातपात गरेका थिए ।

विद्यार्थीहरुले पक्राउको बिरुद्ध विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शनसमेत गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिनाशर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् । रिहाई नगरे थप आन्दोलन गर्ने उनिहरुले चेतावनि दिँदै आएका छन् ।

क्याम्पसअगाडि गाडी जलाउनुअघि विद्यार्थीहरुले विराटनगर–१२ पाञ्चालीस्थित कञ्जनजङ्घा पार्टी प्यालेस अगाडि विद्युत प्राधिकरणको गाडीमा समेत तोडफोड र आगजनीको प्रयास गरेका थिए । विद्यार्थीको ढुङ्गामुडाबाट प्राधिकरणको ‘बा १ १८८७’, ‘बा १ ख ८१८०’ र ‘बा प्रदेश १ ००१ २७०१’ नम्बरको ३ वटा गाडीमा क्षति पुगेको छ । प्रक्राउ पर्ने विद्यार्थीहरु भने रंगेली–६ का २३ वर्षीय दीपक यादव, वर्ष २० का राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here