ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः झलनाथ खनाल


२७ जेष्ठ २०८१, आईतवार १५:२० मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।

आइतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले एमालेले मार्क्सबाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गर्नुभएको हो ।

उहाँले समाजवादका कुरा गर्नेहरुले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गर्नुभयो ।

१४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको सम्मानित नेता खनालको भनाई थियो ।

उहाँले भन्नुभयो,‘बुर्जुवा विचारहरु कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन् । अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरुले रुपान्तरण गरिदिन्छन् । नेताहरुलाई नै रुपान्तर गरिदिन्छन । केपी ओलीमा आएको यो अधपतन रुपान्तरण हो कि होइन ? अधपतन हो कि होइन ? त्यो अधोपतन हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो । माक्र्सवाद लेनिनवाद पनि होइन । सबभन्दा पहिला के आउँछ ? भन्दा जबज । त्यो भएको हुनाले आज हामीले यो समाजवादी कुरा गर्दाखेरी हाम्रा सामू केही चुनौतिहरु छन् । वैचारिक सैद्धान्तिक चुनौतिहरु छन् । ती सैद्धान्तिक चुनौतिहरुलाई हामीले ठिक ढंगले पहिचान गर्नुपर्छ ।’

सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here