डढेलोले विद्यालय भवन जलेपछि पठनपाठन प्रभावित


२७ बैशाख २०८१, बिहीबार १५:४२ मा प्रकाशित

सल्यान । वनमा लागेको डढेलो सल्किएर शारदा नगरपालिका-१० मधनामा रहेको सिद्ध प्राथमिक विद्यालयको भवन जलेपछि पठनपाठन  प्रभावित भएको छ । केही दिनअघि यहाँको राष्ट्रिय वनमा लागेको डढेलोले विद्यालयमा क्षति गरेको थियो । कक्षाकोठामा रहेका सबै सामग्रीसहित विद्यालयका भवन बस्नै नमिल्ने गरी जलेर नष्ट हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । 

नयाँ भवन जलेर नष्ट भएपछि विद्यार्थीहरु जीर्ण तथा साँघुरो भवनमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा तीन वटा भवन रहेकोमा दुई जीर्ण भएपछि २०७७ मा निर्माण गरेको दुई कोठे नयाँ भवनसहित भएका शैक्षिक सामग्री वनमा लागेको डढेलोले ध्वस्त बनाएको विद्यालयले जनाएको छ । जसकारण बालबालिकालाई पठनपाठन गराउन गाह्रो भएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण बुढाथोकीले बताए ।

उनका अनुसार हावाहुरी चलेको बेला वनमा लागेको डढेलोको लप्काले विद्यालयको कक्षाकोठा भित्र लगाएको प्लाईउड जलेपछि कक्षाकोठामा भएका पाठयपुस्तक, लगायत विद्यार्थीका शैक्षिक सामग्री, बस्ने गलैँचा, टेबुल सबै जलेको छ । कक्षा संचालन भइरहेकै बेला नजिकैको राष्ट्रिय वनमा लागेको डढेलो विद्यालय सल्किएर आगलागी भएको प्रधानाध्यापक बुढाथोकीले बताए ।

कक्षा १ देखि ५ सम्म संचालित विद्यालयमा बालविकासमा ११, कक्षा १ मा ६, कक्षा २ मा तीन, कक्षा ३ मा तीन, कक्षा ४ मा एक र कक्षा ५ मा चार गरी २८ जना विद्यार्थी छन् । ‘विद्यालयमा भएका नयाँ तथा राम्रो फर्निचर, बस्ने गलैँचा लगायत शैक्षिक सामग्री जलेर नष्ट भएका छन्, विद्यार्थीका झोलासहित पाठयपुस्तक पनि जले ।

जीर्ण भवनमा थन्किएको पुराना बेन्च तथा कार्पेटमा विद्यार्थीलाई राख्नु परेको छ,’ उनले भने, ‘जीर्ण भवनमा बर्षात्‌को पानी चुहिन्छ । तर के भर्खर मात्र सुरु भएको पठनपाठन बन्द गर्न सकिदैन । त्यही भएर जीर्ण र जोखिमपूर्ण भवनमै कक्षा चलाइरहेका छौँ ।’

शारदा नगरपालिका–१० का वडाअध्यक्ष कृष्णबहादुर बोहराले बिद्यालय भवनमा भएको आगलागीबाट ७२ मिटर जुट कार्पेट, सय मिटर पि–फर्म, ७० कुसन, चार पुस्तक र्‍याक, तीन गोजी तालिका, १६ थान पुस्तक, दुई थान कुर्सी, १६ दर्जन सिसाकलम, पाँच दर्जन पेन मार्कर, दुई डस्टविन, १५ थान भुई टेबुल, दुई बुक कर्नर, २ सेतोपाटी, १६ बर्णमाला, १६ विद्यार्थीका किताव कापीकलम सहितका झोला लगायतका शैक्षिक सामाग्री जलेको पाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here