बेलायती रक्षा मन्त्रालयमा आज भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता


१४ चैत्र २०८०, बुधबार १२:२६ मा प्रकाशित

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भूतपूर्व गोर्खाहरूको मागका विषयमा त्रिपक्षीय वार्ता हुँदै छ ।

बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्ता दिउँसो दुई बजेदेखि साढे तीन बजेसम्म बेलायती रक्षा मन्त्रालयमा तय भएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली  राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुँदैछन्।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिँदैछन्।

बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्तामा यस पटक गोर्खाहरूको प्रमुख माग पेन्सनको मुद्दालाई  प्राथमिक दिइने भएकाले यो वार्तालाई विशेष महत्वकासाथ हेरिएको छ ।

आजको बैठकको लागि यसअघि बसेको तयारी बैठकले समान पेन्सनकै एजेन्डामा केन्द्रित गर्ने पनि निर्णय गरेको थियो ।

यसअघिको वार्तामा इमिग्रेसन, वेल्फेयर, एनएचएसलगायतका विषयमा कुरा भएको थियो। तर बेलायती मन्त्रीको समय अभावका कारण पेन्सनसम्बन्धी विषयमा प्रवेश नै हुन नसकेकाले यस पटक सुरुमै पेन्सनको मुद्दा उठान गर्ने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here