राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित, आगामी वर्ष स्थानीय तहमा बजेट पठाउने


१४ चैत्र २०८०, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको जनाएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन्। आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाइने गरी यो वर्ष उक्त कार्यक्रम स्थगित गर्ने निर्णय भएको मन्त्री सचिवालयले जनाएको छ । 

मन्त्री श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेकी हुन् । कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट तर्जुमा कै क्रममा स्थानीय तहमा बजेट पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । 

राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रमको लागि यो वर्ष एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ। उक्त कार्यक्रम मार्फत ७४ विद्यालयलाई ४ कोठे भवन, ५ सय ९५ विद्यालयमा आइसीटी र १९ वटालाई प्राविधिक विद्यालय बनाउने गरी सूचना जारी गरिएको थियो। सूचना अनुसार  चार कोठे भवनको लागि एक हजार ७९०, आइसीटीका लागि एक हजार ७१४ र नयाँ प्राविधिक विद्यालयका लागि १८५ विद्यालयको निवेदन परेको मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा बजेट विनियोजन भएता पनि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको थियो। विगतको कार्यक्रमको प्रभावकारिताको विश्लेषण, स्थानीय तहसँगको छलफलमा उठेका विषयको सम्बोधन, चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनौटको कार्यमा ढिलाइ भएको देखिएको मन्त्रालयको निष्कर्ष छ। 

मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न समेत रकम विनियोजन गर्न आवश्यक देखिएको छ। सोही आधारमा मन्त्री श्रेष्ठले उक्त निर्णय गरेकी हुन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको छलफलमा विभिन्न विषय उठेका थिए।

आगामी आर्थिक वर्षमा मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक रकम विनियोजन गर्न अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ। त्यस्तै जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि समेत आवश्यक बजेट व्यवस्थापन गर्नका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here