सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा


९ चैत्र २०८०, शुक्रबार १५:४७ मा प्रकाशित

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा रिहा गरिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महराको स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छाडिएको बताइएको छ ।

हाजिरी जमानीमा छाड्नका लागि महराको फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो ।

सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाइएको हो । सीआईबीले महरालाई छोरा निर्मलको जिम्मा लगाएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिसकेको छ ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here