काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ ।
शुक्रवारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै उहाँले न्याय सम्पादन सधैँ सही नहुने बताउनु भयो । उहाँले महिला न्यायाधीशहरुले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताउनु भयो ।
उहाँले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको बताउनु भयो । उहाँले अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै खुशी प्रकट गर्नुभयो ।