झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम हुने


२ चैत्र २०८०, शुक्रबार २०:४० मा प्रकाशित

झापा । सप्तक संगीत विद्यालयको आयोजनामा झापाको बिर्तामोडमा शास्त्रीय संगीतमा आधारित वसन्तोत्सव कार्यक्रम हुने भएको छ ।

बिर्तामोड ५ मा रहेको सप्तक संगीत विद्यालयले चैत्र ५ गते वसन्तोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो  ।

कार्यक्रममा नेपाली संगीतको प्रख्यात सुकर्म ब्याण्डको प्रस्तुति रहने विद्यालयका अध्यक्ष तथा संगीत प्रशिक्षक सरोज वत्सले जानकारी दिनुभयो । त्यस्का अतिरिक्त अन्य कलाकारहरुको सांगीतिक प्रस्तुति पनि रहने उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा प्रख्यात भजन गायक धर्मदास बुढाथोकीको विशेष भजन गायन पनि रहने वत्सले बताउनुभयो । सोही अवसरमा गायिका मेनुका पौडेल तथा सप्तक संगीत विद्यालयका विद्यार्थी एवम् कलाकारहरुद्वारा गाइएका गीतहरु‌को अडियो भिडियो रिलिज गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा मारवाडी भाषाका कवि सत्यनारायण तायलद्वारा लिखित मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत पनि सार्वजनिक गरिने भएको छ । कार्यक्रममा ललितकला क्याम्पसकी प्राध्यापक सुजता बरालको कथक नृत्य पनि रहने उहाँले जानकारी दिनुभयो ।

संगीत विद्यालयद्वारा बालबालिकासंग सप्तक कार्यक्रम अन्तर्गत आयोजित १५ दिने निःशुल्क संगीत प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमसमेत सोही अवसरमा गरिने विद्यालयका संरक्षक तथा गीतकार डा. कुमार सुवेदीले जानकारी दिनुभयो ।

सुकर्म ब्याण्डका संस्थापक एवम् वरिष्ठ सितारवादक प्राध्यापक डा. ध्रुवेशचन्द्र रेग्मीलाईसमेत सम्मान गरिने सुवेदीले जानकारी दिनुभयो । कार्यक्रम चैत्र ५ गते सोमवार २:३० बजेदेखि बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here