झापा । छैटौं झापा गोल्डकपको फाइनल खेलमा सहभागी हुने दुवै टिमले उपाधि उचाल्ने किसिमले तयारी गरिरहेको बताएका छन् ।
गोल्डकपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।
फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् ।
चर्च ब्वाइजका टिम कप्तान दीप कार्की र कोच रुबेन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरे ।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी पहिलो पटक फाइनलमा पुगेको हो ।
सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।
बिभागीय टोली एपीएफले झापा गोल्डकपको उद्घाटन खेल खेलेको थियो ।
उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएफले सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखाएको थियो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो ।
सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो ।
झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।