एमालेको कोशी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने


१२ आश्विन २०८०, शुक्रबार ०७:४३ मा प्रकाशित

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशन आजदेखि प्रदेश राजधानी विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

अधिवेशन आयोजक मूल समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । पार्टीका प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताउनुभयो । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

अधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।

पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने बताउनुभयो ।

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनाइएको छ । अधिवेशन लागि ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गरिने जनाइएको छ । प्रचार उपसमिति संयोजक शैलेश लामाले अधिवेशनले राजनीतिक वृत्तमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here