संसद अवरोधको समस्यालाई समाधान गरेर मात्रै सदन अघि बढ्छः सभामुख घिमिरे


२४ असार २०८०, आईतवार ०७:२४ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उहाँले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेरमात्रै संसदलाई गति दिन उचित हुने बताउनुभएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भूमिका आफूले निभाइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गर्दै संसद सुचारु गर्न आग्रह गरेको बताउनुभयो । साथै प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारणले हो ? भनेर प्रश्न गरेको बताउनुभयो ।

जवाफमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारले सो विषयलाई गम्भीरताका साथ नलिएको र प्रमुख प्रतिपक्षको कर्तव्य आफूले निभाएको बताउनुभएको पनि जानकारी दिनुभयो । उहाँले प्रमुख प्रतिपक्षले दिएको जवाफ पनि प्रधानमन्त्री दाहाललाई आफूले सुनाएको र सम्भवतः वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्ने विश्वासमा आफू रहेको बताउनुभयो ।

उहाँले सभामुखको भूमिका संसदमा तटस्थ हुने र सबैलाई स्थान दिनुपर्छ भन्दैमा झगडा गर्ने स्थान संसद बन्न नदिने बताउनुभयो । उहाँले इस्यु उठिसकेपछि त्यसको समाधान गरेर नै संसदका काम अघि बढाउन आफूले चाहेको र सोही अनुसार पहल गरिरहेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here