काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक/पटक दिल्ली गएको प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो ।
बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीका कारण नेपालीको शीर निहुरेको भन्दै अहिलेको अवस्थामा सभाको कामकारवाही अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।
एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।
तर एमाले सांसदहरुले निरन्तर विरोध जनाएपछि उहाले बैठक स्थगित गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।