नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध


१२ जेष्ठ २०८०, शुक्रबार १६:१९ मा प्रकाशित

काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
शुक्रबार बसेको बैठकको सुरुमै एमाले सांसदहरुले सत्तापक्षका सांसदहरुले सदनमा नियोजित रुपमा एमालेमाथि भ्रष्टचारको आरोप लगाएको भन्दै नारावाजी सहित वेल घेराउ गरेपछि बैठक अवरुद्ध भएको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षका सांसदले रोष्ट्रममा उभिएर पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै आपत्ति जनाउनुभयो । पशुपतिको गजुरमा सुनको ठाउँमा पित्तल लगाएको छ भने छानबिन हुनुपर्ने र सरकारले जवाफ दिनुपर्ने उहाको भनाइ छ ।

उहाले एमालेलाई गैरजिम्मेवारीपूर्वक आरोप लगाउने सांसदले माफी माग्नुपर्ने बताउनुभयो । त्यस्तै एमाले सांसद सुवासचन्द्र नेम्वाङले आफुहरु सदन रोक्न नहुने पक्षमा रहेको भएपनि सत्तापक्षको तर्फबाट जिम्मेवार सांसदले राखेको कुराको कुनै आधार नरहेको र गैर जिम्मेवार रहेकाले विरोध गर्नुपरेको धारणा राख्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेतामाथि सदनमा गम्भीर प्रश्न उठेपनि यो आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने उहाले बताउनुभयो । यसलाई राफसाफ नगरेसम्म सदन चल्न नसक्ने नेम्वाङको भनाइ छ ।
एमाले विरोधकाबीच सभामुख देवराज घिमिरेले माओवादी सांसदलाई बोल्न समय दिएपछि एमाले सांसदहरुले वेल घेराउ गरेका थिए । सो क्रममा सभामुख घिमिरेले संसदीय प्रक्रियालाई अघि बढाउन आग्रह गरेपनि एमाले सांसदहरुले लगातार विरोध गरेपछि संसद बैठक स्थगीत गरिएको छ ।

माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा जलहरी सुन भनेर पित्तल चढाएको आरोप लगाएको एमालेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here