काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आठ दलीय गठबन्धनप्रति आक्रोश पोख्नु भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि एकजुट भएका आठ दलको गठबन्धन संविधान रक्षाका लागि बनेको भन्ने भनाइप्रति राप्रपा अध्यक्ष लिङ्देनले आक्रोश व्यक्त गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धन बनेको छ। यसका नेताहरूले संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँताइएको बताइरहेका छन्।
आठ दलीय गठबन्धन बनेपछि सत्ताबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाका अध्यक्ष लिङ्देनले दलहरूले संविधान होइन, जनताको हित रक्षाका लागि गठबन्धन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकताअनुसार फेर्न र फ्याँक्नसमेत सकिने तर्क गर्दै अध्यक्ष लिङ्देनले दलहरूले उल्टो काम गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
‘संविधान गीता, बाइबल, कुरानजस्तो अपरिवर्तनीय हुँदैन, आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि’, शनिबार बिहानमा सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले भन्नुभएको छ, ‘दलहरूले संविधानको रक्षाभन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ, सन्दर्भ- संविधानको रक्षाका लागि गठबन्धन।’






