प्राविधिक खटिनुअघि बनेका घरले एकमुष्ट तीन लाख पाउने


१७ असार २०७६, मंगलवार १६:४७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्रधिकरणले प्रविधिकहरु खटाउनु अघि बनाइएका १२ हजार घरधनीले एकमुष्ट रुपमा तीन लाख पाउने भएका छन् ।

मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राविधिक खटिनुपुर्व बनेका घरका घरधनीलाई एकमुष्ट रुपमा अनुदान प्रदान गर्ने कार्यविधि पारित भएको हो । सो कार्यविधि पारित भएसँगै सरकारी प्राविधिक खटिनु अघि नै घर बनाएका भूकम्प पीडितले तीन लाख रकम प्राप्त गर्ने भएका छन् । उक्त रकम प्राप्त गर्नका लागि प्राविधिक परिचालन हुनु अघि नै लाभग्राही सूचीमा हुनु पर्नेछ भने स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ ।

‘प्राविधिक परिचालन गर्नुपुर्व पुनर्निर्माण गरिएका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिलाई देखिएकोले सो कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्यविधि पारित गरिएको हो’–राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । अहिले सम्म ४ लाख २३ हजार घरहरु पुनर्र्निर्माण सम्पन्न भइसकेका छन् ।

प्राविधिक खटिनु अघि बनेका घरहरुमध्ये १२ हजारले अनुदान रकम लिन बाँकी छ । यसमा केही संख्या थपिन सक्ने प्रधिकरणले जनाएको छ । सो रकम एकमुष्ट रुपमै दिने तयारी गरेको छ । यसैगरी कार्य समितिको बैठकले एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि पनि पारित गरेको छ ।

यस कार्यविधिले शहरी क्षेत्रमा देखा परेका बहुस्वामित्व सम्बन्धी अन्योल अन्त्य भइ पुनर्निर्माण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सहज पुग्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । एक कोठे घर निर्माण सम्बन्धी पनि यस बैठकले मापदण्ड तोकेको छ जसमा घर भित्रको न्युनतम क्षेत्रफल १२० वर्गफिट कायम गर्नुपर्ने हुन्छ । साथै भान्सा कोठा, शौचालय, बरण्डा र पाली हुनु पर्नेछ ।

निर्माण भइसकेका एक कोठे घरको हकमा मापडण्ड बिपरित भए मापदण्ड पुरा गरी मात्रै किस्ता सिफारिस गर्ने र अन्तिम किस्ता सिफारिस भएमा स्थानीय तहले प्रमाणपत्र दिँदा सो कुरा पुष्टी गरी दिने निर्णय बैठकले गरेको छ । यसअघि एक कोठे घर बनाउँदा भान्सा कोठा शौचालय समावेश गरिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here