लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिन्छौं: देउवा


१३ असार २०७६, शुक्रबार १६:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार नै ढालिदिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को बिबादित विधेयक ल्याएको उनले दाबी गरे ।

पार्टी निकट स्थानीय तहका कर्मचारीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले भने, ‘लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई पनि ढाल्यो । राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या छैन ।’

जनताको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ । उनले कर्मचारीलाई सरकारले अनेक वाहनामा दु:ख दिइरहेको आरोप लगाए । स्थानीय तहमा काम गरिआएका कर्मचारीलाई स्वत: स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने पनि उनले बताए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भ्रष्टाचारमा छानविन नगरेको आरोप लगाए । वाइड बडि जहाज खरिदमा भएको भ्रष्टाचारमा संलग्न हुनेलाई कारवाहीको दायरामा ल्याउन उनले माग गरे ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीमाथि भेदभाव गरिरहेको पौडेलको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here