प्रधानमन्त्रीको निर्देशनपछि रेशमलाई बाँधेको साङ्लो हटाइयो


७ असार २०७६, शनिबार १३:२० मा प्रकाशित

काठमाडौँ । टीकापुर हत्याकाण्डको अभियोमा जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा समेत १४ नेल (साङ्लो) लगाएको भन्दै चौतर्फी आलोचना भयो । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई लगाइएको साङ्लो हटाउन निर्देशन दिएपछि सो साङ्लो हटाइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर उनको खुट्टामा साङ्लोले बाँधेर राखिएको देखेपछि विभिन्न दलका नेता तथा अधिकारकर्मीले समेत सरकारको आलोचना गरे । चौतर्फी विरोध र दबाव बढेपछि शुक्रबार बेलुकी नै सांसद चौधरीको खुट्टामा लगाईएको नेल हटाइएको हो ।

अस्पतालको बेडमा रहँदा पनि नेल लगाएर राखिएको थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले सो नेल हटाएर दोषीलाई कारबाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाएको घटनाबारे अध्ययन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।

कैलालीबाट निर्वाचित सांसद चौधरी काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन् । उनका परिवार स्रोतका अनुुसार सांसद रेशम केही समय अगाडिदेखि अस्पतालमा नियमित जाँचका लागि गइरहेका थिए । बिहीबार श्वास फेर्न र हिँड्नसमेत गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here