काठमाडौं । इराकमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
एक सयभन्दा बढी मानिस घाइते भएका छन् । राजधानी बगदादस्थित ग्रिन जोनमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा कयौँ मानिस हताहत भएको अधिकारीहरुले जनाएका छन् । इराकका एक शक्तिशाली शिया धर्मगुरु मुक्तदा अल सदरले राजनीतिक जीवन त्याग्ने घोषणापछि भएको प्रदर्शन हिंसामा परिणत भएको हो ।
अल सदरका समर्थकहरु प्रदर्शनमा निस्किएपछि इरान समर्थित सर्वसाधारणसँग झडपसमेत भएको छ । झडप रोक्न प्रहरीले गोली प्रहार गरेको जनाइएको छ । प्रदर्शनकारीहरु राष्ट्रपति भवनमा समेत छिरेको र विभिन्न सरकारी कार्यालयहरु घेरा हालेको अधिकारीहरुले जनाएका छन् ।
हिंसात्मक प्रदर्शन बढेपछि विभिन्न देशले आफ्ना नागरिकको उद्धार सुरु गरेका छन् । कतिपय देशले नागरिकलाई देश छोड्न र कतिपयले दूतावासमा सम्पर्क गर्न अपिल गरेको जनाइएको छ ।
इराकमा केही वर्ष यता सुरु भएको राजनीतिक तनावका बीच धर्मगुरुले राजनीतिबाट सन्यास लिने घोषणा गरेसँगै प्रदर्शन चर्किएको हो । प्रदर्शन नियन्त्रणका लागि राजधानीमा कर्फ्यु जारी गरिएको छ ।





