नेपाल र बङ्गलादेश बीचको खेल बराबरीमा


१७ श्रावण २०७९, मंगलवार १८:५३ मा प्रकाशित

काठमाडौँ ।  २० वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरको कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेलेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीबाट अवसर बने पनि गोल भने हुन सकेन । दुवै गोल दोस्रो हाफमा भयो ।

खेलको ६३ औँ मिनेटमा बङ्गलादेशका मोहमद पियास अमहेद नोभाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटमा नै नेपालका लागि निरञ्जन मल्लले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याए ।

यसअघि दोस्रो हाफको सुरुमै दुवै टोलीबीच हात हालाहालसम्म भएको थियो । खेलाडीबीच झगडा हुँदा रेफ्रीले नेपालका मैदानमा रहेका दिपेश गुरुङ र बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बालाई रातो कार्ड देखाए । यस्तै बङ्गलादेशका साहिदुल इस्लामले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाए । दुबै टोलीबीचको झगडाले खेल केहीबेर तनावग्रस्त बनेको थियो ।

यो बराबरीसँगै बङ्गलादेश चार खेलका १० अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । नेपाल चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारत भने ६ अङ्कसहित तेस्रो स्थानमा छ ।

आज बेलुकी सवा ६ बजे भारत र माल्दिभ्सबीच हुने खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ । भारतले माल्दिभ्ससँग हारेमा मात्रै नेपाल फाइनलमा पुग्नेछ । माल्दिभ्ससँग भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here