काठमाडौं । १ महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ ।
निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर थापाले बताउनु भयो ।
उहाँका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दल्दले माटो निस्किएकाले काम लम्बिएको हो । तीन मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नतिपछि चार ठूला जहाज पार्किङ गर्न सकिने जनाइएको छ ।





