झापा । विगत २४ घण्टा भन्दा लामो समयदेखि भारी बर्षाका कारण झापाको जनजीवन प्रभावित पर्दै गएको छ।
नदी किनारका स्थानीयबासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्।
अहिलेसम्म प्राप्त जानकारी अनुसार गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा ४ घर परिवार बिस्थापित भएका छन्।
कमल तथा बनियानी खोलाले शिवसताक्षी नगरपालिकाका ३, ४ र ५ नम्बर वडाका केही घर परिवार विस्थापित भएका खबर प्राप्त भएको छ। तर विस्तृत विवरण आउन भने बाँकी रहेको छ।
कमल खोलामा आएको बाढीका कारण केही घर परिवार बिस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

मंगलबार बिहानै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदी तटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो।
शिवसताक्षी नगरपालिका वार्ड नं ६ मा शताक्षी खोलामा आएको बाढीका कारण कम्तीमा ५० घर डुबानमा परेका छन्। २०७४ सालमा आएको बाढीले मच्चाएको वितन्डाकै झल्को आउने गरि क्षति हुन शुरु भएको रेडक्रसकर्मीहरूले बताएका छन्।
शिवगञ्जमा सडकमै बाढी पसेकाले आवागमन नै ठप्प हुने स्थिति भएको बताइएको छ। बर्षा निरन्तर भएक स्थिति भयावह बन्ने अवस्था रहेको बताइएको छ।
गौरादह नगरपालिकाको ५ र ६ नम्बर वडामा रतुवा खोलाको बाढीले ६० घर डुबानमा परेका छन्।
गौरादह ६ को लेलिया डाँगीमा १ सय २५ घरको दुबै तर्फबाट रतुवा खोला बगिरहेको छ भने गौरादह ६ को दामुना खोलामा आएको बाढीका कारण सुकुम्बासी बस्तिका ३५ घर उच्च जोखिममा परेका छन्।
रेडक्रस दमकका अनुसार रतुवा नदीले कटान गर्दा ८ घर परिवार विस्थापित भएका छन्।





