केपी ओलीको प्रवृतिबिरुद्ध १९ पृष्ठको दस्तावेज ल्याउनुपरेको हो : प्रचण्ड


१३ असार २०७९, सोमबार २०:१४ मा प्रकाशित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेकपामा केपी ओलीको प्रवृतिबिरुद्ध १९ पृष्ठको दस्तावेज ल्याउनुपरेको बताउनुभएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले १९ पृष्ठको दस्तावेजले कम्युनिष्टलाई खतम बनाएको ओलीले टिप्पणी गर्ने गरेको भन्दै ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र १९ पृष्ठको दस्तावेज ल्याउन बाध्य भएको बताउनुभएको हो । उहाँले १९ पृष्ठको दस्तावेज आफ्नो मात्रै नभई झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको पनि भएको तर्क गर्नुभयो ।

त्यस्तै प्रचण्डले एमसीसिको पहिलो दस्तावेज आफुले लेखेको र अध्ययन गर्न झलनाथको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि आफुले गरेको बताउनुभयो । उहाँले एमसीसिलाई पार लगाउन १२ बुदेको सहरा लिएको स्वीकार गर्नुभयो । प्रचण्डले ओली नेतृत्वको सरकारले नै एसपीपी ल्याएको र एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि गठबन्धनले खेलेको जिकिर गर्नुभयो । उहाँले शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी सम्झौता पारित हुँदा नेपालमा अमेरिकी सेना आउछ भन्ने भ्रम फैलाइएको तर्क गर्नुभयो । उहाँले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भन्दै प्रश्न गर्नुभयो । एमसीसीका अंग मध्ये नै एसपीपी एउटा भएको भन्दै उहाले तत्कालिन अवस्थामा नेकपामा एमसीसीको दस्तावेज ल्याउन माग गर्दा कुनै नेताहरुले दिन नमानेको जिकिर गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका राजनीतिक दलहरुमा समाजवादी चरित्र भएको बताउनुभयो । उहाले मुलुकमा संविधानकै कारण राजनीतिक स्थायीतत्वको जग बस्न थालेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here