पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारणलाई राहत मिल्छ : दीलेन्द्रप्रसाद बडू


१२ असार २०७९, आईतवार १८:२२ मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारणलाई राहत मिल्ने दावी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उहाँले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताउनुभयो ।

मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गर्नुभयो । सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको उहाले जानकारी गराउनुभयो । उहाँले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने बताउनुभयो ।

उहाँले बजारको महँगी नियन्त्रणका लागि अन्य मन्त्रालय र निकाय एवं पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here