काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निणर्य गरेको छ ।
शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गर्नेका नयाँ मन्त्रीहरुलाई सपथ गराउन ध्यानाकर्षण गराउने निणर्य गरेको हो ।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरुको सपथमा ढिलाई भए अपमानका रुपमा बुझिने बताउनुभयो । उहाँले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नहुने र यसअघि गरेको निणर्य हुबहु कार्यान्वयन हुने जानकारी दिनुभयो ।
मन्त्री हेरफेरका बिषयमाा कुनै माग कुनै सर्त वा कुनै निवेदनले काम नगर्ने भन्दै कुनै बिषयमा छलफल गर्नुपर्ने भए बैठकमा नै छलफल हुने उहाँले जिकिर गर्नुभयो ।
बैठकले गठबन्धनलाई जोड दिँदै पारस्परिक लाभका आधारमा अन्य दलसंग सहकार्य गर्न गठबन्धन गर्न समाजवादी तयार भएको निष्कर्ष निकालेको छ ।
उहाँले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा परेको र समाजवादीको भूमिका आवश्यक रहेको देखिएको निष्कर्ष रहेको बताउनुभयो ।
बैठकमा आम निर्वाचनको तयारी गर्ने लगाएतका बिषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रुपमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।





