राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क र सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनु भएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उम्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वय गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन आह्वान गर्नु भएको छ ।
उहाँले स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा यस्तो आह्वान गर्नु भयो ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा जातीय भेदभाव र छुवाछुतरहित समतामूलक, सभ्य र समुन्नत राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना दिनु भएको छ ।
वि.सं २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाइँदै आइएको छ ।





