काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको बताउनु भएको छ ।
नेपालमा आयात हुने सुपारीलाई नै निर्यात गर्ने व्यवसाय अब इतिहास हुने उहाँले बताउनु भयो।
बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गरी निर्यात दोब्बर बनाउने लक्ष्य लिएको उहाँको भनाइ छ ।
आमजनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उद्देश्य हासिल हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।
सबैको स्वाधीनता कायम हुने गरी सरोकारवालासँग छलफल गरेर बजेट सार्वजनिक गरेको बताउँदै उहाँले मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै मिलेर बजेट कार्यान्वयन गर्नुपर्ने बताउनु भएको हो ।





