भारतबाट कुवेत पुगेकी झापाकी अम्बिका १४ वर्षदेखि सम्पर्कविहीन


१७ जेष्ठ २०७९, मंगलवार १२:०६ मा प्रकाशित

झापा । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन् ।

भद्रपुरस्थित सगरमाथा मावि पढदै गरेकी अवस्थामा घरकी कान्छी छोरी अम्बिका गिरी १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन् । घर छेउकी तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्याएका थिइन् ।

यहाँबाट पठाउने एजेन्ट तारादेवीको ५ वर्षअघि नै हत्या भइसकेकोले छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उनकी ७३ वर्षीया वृद्ध आमा चन्द्रमाया गिरीले बताउनुभयो ।

कुवेत पुगेकी अम्बिका ६ महिनासम्म सम्पर्कमा पनि थिइन् । कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इ.ओढी. नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पठाएकी थिइन् । त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भयो । छोरी ज्युँदो छ कि मरिसकेको त्यो पनि खबर छैन । मलाई लाग्छ छोरी बाचेकी छिन, उनकी आमाले भन्नुभयो ।

उहाँले छोरी खोजी दिन भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाललाई भेटनुभयो । दाहालकै पहलमा अहिले अम्बिकाको खोजी कार्य भइरहेको बताइएको छ ।

चन्द्रामायाको छोरी नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन् । किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको दुखेसो समेत उहाले पोख्नुभयो । उहाँ हाल कान्छा छोरा विमलसँग बस्दै आएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here