काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह लगायत नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराउनुभयो ।
त्यस्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो ।
प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्नुभएको थियो । प्रमुख साह र उपप्रमुख डङ्गोलले सोमबार नै पदवहाली गर्नुभएको छ ।
पदभार गर्दै काठमाडौं महानगर प्रमुख साहले काठमाडौंको फोहर समस्याको दिर्घकालिन समाधान खोजिने बताउनुभयो ।
त्यस्तै उपप्रमुख डङ्गोलले काठमाडौं बासिन्दाको जनजिवन सहज गर्नका लागि काम गर्ने बताउनुभयो । उहाले सवैको सहकार्यमा नै अघि बढ्ने धारणाा राख्नुभयो ।
गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो ।
तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ मत खसेको थियो । सात हजार ६८२ मत पूर्ण बदर भएको थियो ।





