झापा । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ ।
आजदेखि सुरु भएको परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । बोर्डले यो वर्ष पनि अनलाईनबाट प्रश्नपत्र पठाएको हो । परीक्षा सुरु हुनु आधा घण्टा अघि प्रश्नपत्र पठाउने र यस्को फोटोकपी परीक्षार्थीहरूलाई बितरण गरिने बताइएको छ ।
परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो ।





