एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको उपाध्यक्ष गिरीको दाबी


७ बैशाख २०७९, बुधबार २०:१० मा प्रकाशित

 झापा। हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गर्नु भएको छ ।बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले प्रगति विवरण सार्वजनिक गर्नु भएको हो ।

हल्दिवारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरेको र उहाँले साढे ३४ किलोमिटर सडक कालोपत्रे निर्माणको क्रममा रहेको उपाध्यक्ष गिरीले जानकारी दिनु भयो ।यसै आर्थिक वर्ष मात्रै ९७ स्लाव कल्भर्ट निर्माण गरिएको प्रगति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधार तर्फ सडक निर्माणलाई प्राथमिकता दिएको हल्दिवारीमा १२५ किलोमिटर सडकलाई ग्राभेल गरिएको र ८५ किलोमिटरभन्दा बढि सडकको स्तरोन्नति गरिएको उपाध्यक्ष गिरीको भनाई छ । उहाँले ८६ किमि क्षेत्रमा खानेपानीको विस्तार गर्दै ५ सय विपन्न परिवारलाई निशुल्क खानेपानी जडान गरिएको जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गिरीले वडा नम्बर २ मा सामुहिक आवासको लागि १३ वटा आवास निर्माण गरिएको,गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण गरि हस्तान्तरण गरिएको,गाउँपालिकाभित्र रहेका अधिकांश विद्यालय भवन सुविधा सम्पन्न बनाउँदै लक्ष्मी माविमा १८ वटा व्यवसायिक सटर समेत निर्माण गरिएको जानकारी दिनु भएको छ ।हल्दिवारी नमूना माविको तिन तले ९ कोठे भवन निर्माण,१३ वटा विद्यालयभवन निर्माण, आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार सहायता परिचालन कोष सञ्चालन गरेर ६ सय नागरिकलाई सहयोग गरेको, तीन वटा प्याथोलोजि ल्याव सञ्चालनमा ल्याएर गाउँपालिकाका नागरिकलाई विशेष सेवा प्रदान गरिएको, गाउँपालिकाले प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निशुल्क अध्ययनको व्यवस्था गर्दै ८३ जना विद्यार्थीलाई पढाएको, गाउँपालिकाभित्र कम्प्युटर शिक्षालाई अनिवार्य गर्दै कृषि पर्यटनको क्षेत्रमा आम नागरिकको अपेक्षा अनुसारको प्रगति गरिएको जनाइएको छ ।

उपाध्यक्ष गिरीले हल्दिवारीको बाचा, झापाभरी माछा कार्यक्रम सञ्चालन गरेर विषादीयुक्त भारतीय माछालाई प्रतिवन्ध गर्न सफल भएको पनि दावी गर्नु भएको छ । भूमिगत सिंचाई, मोटर बोरिङको वितरण गरेर किसानलाई सहयोग पुराएको समेत जानकारी दिनु भयो । पर्यटनतर्फ भेलागुडी सामुदायिक वनक्षेत्र भित्र लोकतान्त्रि शहिद पार्क निर्माण गरेर स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योजना सफल बनाएको उपाध्यक्ष गिरीको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here